आजको प्रतिनिधिसभा बैठक : एमाले विरोधकाबीच दुई अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ ।

बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।
बैठक सुरुहुनासाथ एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरी रोष्ट्रम घेराउ गरेका थिए । एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ । एमाले सांसदहरुले बैठकमा विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीमा अदालतमा विचराधीन विषयमा छलफल हुन नसक्ने व्यवस्था रहेकोतर्फ पटक–पटक ध्यानाकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । उनले जनताका विषयहरुलाई सदनमा राख्न अनुरोध गरेपनि एमालेका सांसदहरुले विरोध कायमै राखेपछि कार्यसूची अघि बढाइएको थियो ।

त्यसलगतै दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै अध्यादेशलाई पारित गर्नुपूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।