कोरियाको अनुदानमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना हुने, दक्ष जनशक्ति उत्पादन गरिने अर्थ मन्त्रालयको दाबी

नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

बुधबार अर्थमन्त्रालयमा अर्थ सचिव मधुकुमार मरासनी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले सो सझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । प्रदेश नं २ को महोत्तरीमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत कोरिया सरकारले ८।६ मिलियन अमेरिकी डलर अनुदान दिनेछ । उक्त परियोजनापश्चात् नेपाल र विश्वबजारमा माग हुने निर्माण क्षेत्रका दक्ष जनशक्तिको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग मिल्नेछ । बढ्दो बेरोजगारी समस्या मुलुकको चुनौतीका रुपमा देखा परेको वर्तमान परिस्थितिमा पोलिटेक्निक इन्स्टिच्युटको स्थापनाले सीपयुक्त जनशक्तिको आवश्यकता परिपूर्ति हुने अर्थ मन्त्रालयका सचिव मरासीनीले बताए । मुलुकमा व्याप्त, दक्ष जनशक्ति अभावको समस्यालाई न्यूनीकरण गर्न सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

प्रदेश नं २ बाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अधिक रहेको अवस्थामा सो प्रदेशमा पोलिटेक्निक इन्स्टिच्युट स्थापनाले सीप सिकेर विदेश जान सहयोग मिल्ने अर्थमन्त्रालयले जनाएको छ ।