नेपाली कांग्रेसको सभापतिमा देउवा विजयी, ९ सय ७ मतान्तरले डा. कोइराला पराजित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् ।

दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका हुन् । सभापति पदमा निर्वाचित भएपछि देउवाले बालुवाटारमा शुभकामना दिन आएका नेता तथा कार्यकर्तामाझ आभार व्यक्त गरे । देउवालाई बधाई दिन बालुवाटारमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको भीड नै लागेको थियो । त्यस्तै बालुवाटार पुगेका कांग्रेस नेता डा प्रकाशशरण महत्तले सबै नेताहरुलाई जोड्न सक्ने क्षमता देउवामा रहेको बताए । महतले मूल अर्जुनदृष्टि आगामी निर्वाचन भएको भन्दै पार्टीलाई एकताबद्ध भएर लैजाने विश्वास व्यक्त गरे । उनले जनताकेन्द्रीत र देशको आवश्यकता र स्वर्थकेन्द्रीत पार्टी बनाउने धारणा पनि राखे ।

दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेकामा देउवाले २७३३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गरेका थिए । ३५ मत भने बदर भएको थियो ।

यसअघि २०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।