नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासन सत्ता हातमा लिएको दाबी गरेका छन् ।
बुधबार ललितपुरमा एमालेका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउँदै अध्यक्ष ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच भएको सहमतिका विषयमा जानकारी पनि गराउनुपर्ने बताए । सहमति पछि नै ज्ञानेन्द्रले, माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको उनको तर्क छ । ओलीले कांग्रेसले अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी परिवर्तनकारीका विरुद्धमा उभिने काम गरेको आरोप लगाए । त्यस्तै, अहिले मुलुकमा देखिएको अस्थीतरता निम्ताउने आरोप उनले प्रचण्ड र माधव कुमार नेपाललाई लगाए ।
फरक प्रसंगमा ओलीले साम्राज्यवादको विकसित रुप सेयर बजार भन्ने प्रचण्डको अभिव्यक्तिकै कारण दुई दिनमै सेयर बजार धरासायी बनेको टिप्पणी गरे । जनताको आर्थिक स्थिति र अर्थतन्त्रबारे दाहाललाई कुनै मतलब नभएको उनको आरोप छ ।
आगामी निर्वाचनमा एमालेलाई ठूलो पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्ने र मनोनित केन्द्रीय सदस्यलाई आवश्यक जिम्मेवारी दिइने उनले बताए ।