संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले विरोध गरेका छन् ।
बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले नारबाजी गर्दै रोष्टम घेराउ गरेका हुन् । सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा सुनाउने बितिकै एमालेका सांसदहरुले विरोध सुरु गरेका थिए । एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका सांसदलाई सभामुखले नहटाएको नाराबाजी पनि गरेका थिए ।
उनीहरूले गैरसांसद राखेर संसद चल्न नसक्ने बताएका छन् । संसदमा विरोध भएपछि सभामुख अग्नी सापकोटाले जनप्रतिनिधिको सर्वोच्च निकाय संसदलाई जिम्मेवार भएर अघि बढाउन आग्रह गरे । उनले सभालाई सुव्यवस्थित तरिकाले सञ्चालनका लागि पटक पटक आसन ग्रहण गर्न आग्रह गरेपनि एमाले सांसदहरुले विरोध जारी राखेपछि कार्यसूचीलाई अघि बढाएका थिए ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणका तर्फतबाट कानूनमन्त्री दिलेन्द्र बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गरे ।
त्यस्तै कानूनमन्त्री बडुले भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवका तर्फबाट रेल्वे अध्यादेश पेश गरे भने यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक पौष ६ गते बोलाइएको छ ।