कांग्रेस १४ औं महाधिवेशन: मत परिणाम सहर्ष स्वीकार्ने शेखर कोइरालाको भनाइ

नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार डा शेखर कोइरालाले दोश्रो चरणको निर्वाचनको मत परिणाम जस्तो आएपनि पार्टीलाई एकताबद्ध बनाउन आफूले भूमिका खेल्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्र वृहत्तर एकताका लागि सधैँ प्रयास गर्ने बताए । उनले गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान पनि गरे । कोइरालाले जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार्ने धारणा राखे ।

कोइरालाले आफूले रुपान्तरण र पुनजागरणको कुरा गरेर आएको भन्दै देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्ने उल्लेख समेत गरे ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको थियो । मतदान कार्यक्रम मंगलबार दिउँसो साढे ३ बजे देखि शुरु भएको छ ।