आफ्नो नेतृत्वमा पार्टी बलियो बन्ने शेरबहादुर देउवाको दाबी

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर बलियो बनाउनुपर्ने बताएका छन् ।

नेपाल मुस्लिम संघले शनिबार काठमाडौंमा आयोजना गरेको मुस्लिम महाधिवेशन प्रतिनिधिको स्वागत कार्यक्रममा देउवाले आगामी निर्वाचनमा बहुमत दिलाउन पार्टीलाई एकताबद्ध भएर बलियो बनाउनुपर्ने बताएका हुन् ।

उनले पार्टी नेतृत्वमा आउनेले पार्टीलाई सशक्त बनाउनुपर्ने भएकाले उक्त जिम्मेवारी आफूले पूरा गर्ने स्पष्ट पारे । अहिले मुलुकलाई अघि बढाउनका लागि र सबैको अधिकार स्थापित गर्न पनि कांग्रेस नेतृत्वको सरकारको निरन्तरता आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा महाधिवशेनका लागि आएका मुस्लिम महाधिवेशन प्रतिनिधिलाई सम्मान पनि गरिएको थियो ।