प्रकाशमान सिंहद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा, देउवाको नेतृत्व असफल भइसकेकाले आफूले उम्मेदवारी दिएको दाबी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । सिंहले पार्टीलाई बलियो बनाउन र मुलुकको विकासका लागि आफूले पार्टी नेतृत्वमा दाबी गरेको बताएका हुन् ।

शनिबार काठमाडौंमा उम्मेद्वारी घोषणा गर्दै उनले आफूले काम गरेर देखाउनका लागि नै केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन लागेको बताए । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा असफल भइसकेकाले अब उनलाई सभापति बनाउन नहुने भएकाले आफू सभापतिको उम्मेदवार बन्न लागेको सिंहको भनाइ छ । उनले आफ्नो समूहमा सहमतिका लागि आफू बाधक भएको मित्थ्या प्रचार गरिएको गुनासो गरे ।

संस्थापनइतर पक्षबाट साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थकको सहयोगमा सिंहले उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।