निर्माणमा ढिलाइ गर्ने ठेकेदारमाथि कारवाही हुनुपर्ने भन्दै सडक विभागमा धर्ना, विरोध गर्ने स्थानीय प्रहरी नियन्त्रणमा

दोलखाको चरिकोट–मुडे सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारमाथि कारवाही हुनुपर्ने भन्दै सडक विभागमा धर्ना दिन पुगेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७४ भित्र सम्पन्न हुनुपर्ने उक्त निर्माण कार्य अझै पनि सम्पन्न नभएको भन्दै सो क्षेत्रका स्थानीय र सरोकारवालाहरु मंगलबार ललितपुरको चाकुपाटस्थित विभागमा धर्ना दिन पुगेका थिए । धर्नाका क्रममा उनीहरुले विभागको गेटमा बसेर नारावाजी गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले चरिकोट–मुडे सडक चाँडो कालोपत्रे गर, ६ वर्षदेखि दोलखाबासीले भोगिरहेको बिचल्लीबाट मुक्ति दे लगायतका नारा लगाएका थिए ।

यसअघि सोमबार चरिकोट–मुडे सडक विस्तार संघर्ष समितिसँगको छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारसँगको सम्झौता तोड्ने बताएका थिए ।