ट्राफिक प्रहरीद्वारा सादा पोसाकमा खटिएर विशेष अपरेसन सञ्चालन, मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोह पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्री वितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो ।

टोलीले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ का नर कुमार पुँडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको २२० सिसिको पल्सर मोटरसाईकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानका क्रममा न्यूरोडबाट जुम्ला सिंङ्जा गा पा ६ घर भइ हाल कीर्तिपुर बस्ने वर्ष २० का पुन्दलाल बुढालाई मोटरसाईकल सहित पक्राउ गरेको हो । त्यसैगरी कीर्तिपुर क्षेत्रबाट काठमाडौंका २२ वर्षीय सन्तोष महर्जन, उदयपुर घर भएका कमल बहादुर बस्नेत र बारा गढिमाई घर भएका वर्ष २२ का रन्जित प्रसाद गुप्ता सहित रौतहट गुजरा न पा २ घर भई हाल सानोभर्याङ बस्ने वर्ष ३४ का ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा न पा ३ घर भई हाल बानेश्वर बस्ने ३२ वर्षीय रवि कुमार कुशवाहालाई पनि पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ ।