नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समूहमा सहमतिमा सभापतिको उम्मेदवार नबने लोकतान्त्रिक प्रक्रिया अनुसार प्रतिस्पर्धा गर्ने बताएका छन् ।
मंगलबार सिंहदरबार मूलगेट अगाडिको यलम्बर पार्टी प्यालेसमा आफ्नो महाधिवेशन केन्द्रित सम्पर्क कार्यालयको स्थापना गर्दै नेता सिंहले सहमतिको प्रयासका लागि छलफल भइरहेको भन्दै सहमति नबनेमा कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सोही प्रक्रिया अनुसार प्रतिस्पर्धा गर्ने बताएका हुन् । नेता सिंहले आफू आम कार्यकर्ताको तहबाट ५ दशक राजनीति गरेर यहाँसम्म आएको बताउँदै आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको दाबी गरे । पार्टीलाई प्रभावकारी रुपमा परिणत गर्न तथा पार्टीलाई विधिसंवत, नियमसंवत र संस्थागत रुपमा सञ्चालन गर्न १४ औँ महाधिवेशनमा उचित नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताए । त्यस्तै नेता सिंहले महाधिवेशन केन्द्रित सम्पर्क कार्यालयले पनि आफ्नो राजनीतिक सक्रियता बुझ्नुपर्ने उल्लेख गरे ।
सभापति शेरबहादुर देउवाको कार्यकाल सफल नभएको बताउँदै महाधिवेशन प्रतिनिधिले सही मूल्यांकन गरेर नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए । उनले आफ्नो सम्पर्क कार्यालयमा बिहान ८ बजेदेखि कार्यकर्ता भेटघाट र छलफल शुरु गर्ने जानकारी दिए ।