खेलाडीको हकहीतका निमित्त राखेपलाई बुझाइयो ६ बुँदे ध्यानाकर्षण पत्र

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीको सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नियमित पुरस्कारको व्यवस्था लगाायतका माग राख्दै राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंगलबार संघले सदस्यसचिव घिसिङलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले खेलाडीको प्रोत्साहन भत्तामा अहिले स्वर्ण पदक विजेतालाई मात्र दिँदै आएकोमा रजत र काश्य पदक विजेतालाई पनि व्यवस्था गर्न माग राखेको छ । त्यस्तै सागमा स्वर्ण र रजत जित्ने खेलाडीलाई खेलकुदमा नै राज्यले रोजगारीको व्यवस्था गर्ने गरेकोमा पछिल्लो पटक त्यो व्यवस्था हटेकाले त्यसलाई फेरि निरन्तरता गरिदिन माग गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । खेलाडीको कल्याणकारी कोषमा अर्थ मन्त्रालयले गरेको बाचा अधुरो रहेको र यसलाई थप मजबुत बनाउन हरेक वर्ष २० लाख रुपैयाँ कोषमा थप गर्नका लागि पहल गर्न उनले अनुरोध गरे ।

राखेप सदस्य सचिव घिसिङले संघले राखेका विषयलाई आफूले सम्बोधन गर्ने बताए । कोषमा २० लाख थप्ने विषयलाई निरन्तरता दिन पहल गर्ने र यसलाई कार्यविधि बनाएर खर्च गर्नुपर्ने उनको भनाई छ । उनले जीवनको महत्वपूर्ण समय राष्ट्रमा खर्चिएका खेलाडीहरुको उचित व्यवस्थापनका लागि कार्ययोजना बनाइने बताए ।

संघले खेलकुद मन्त्रालय र राखेपमा नयाँ नेतृत्व आएपछि ध्यानाकर्षण बुझाउने गरेको छ । ध्यानाकर्षण बुझाएपनि आफ्ना मागका बारेमा सरोकारवाला निकाय गम्भीर नभएको संघको गुनासो छ ।