सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले संकटासँग २ गोलको बराबरी खेलेको हो । संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरेका छन् भने मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए । त्यस्तै खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाएका हुन् । यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ भने संकटाले ५ अंक जोडेको छ ।