आज बालाचतुर्दशी, पशुपति परिसरमा सतबीज छर्ने भक्तजनहरुको घुइँचो

आज बालाचतुर्दशी, दिवंगत पितृका नाममा शतबीज छरेर मनाइएको छ ।

बालाचतुर्दशीको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानदेखि लाखौंको सङ्ख्यामा सतबीज छर्ने भक्तजनहरुको घुइँचो लागेको थियो । बिहीबार बेलुका भक्तजनहरुले दिवंगत पितृका नाममा दीपदान गरेका थिए । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीको बिहान शतबीज छर्ने हिन्दु परम्परा छ । प्रत्येक वर्ष बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।