राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ ।
केही जिल्लामा देखिएको प्रतिनिधि विवाद समाधान भएपछि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढेको हो । जसअन्तर्गत आज पार्टीमा उम्मेद्वारी दिइएको छ भने नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुनेछ । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुने राप्रपाले जनाएको छ ।
निर्वाचनका लागि १ सय भोटिङ मेसिन महाधिवेशन स्थलमा ल्याइने र ९१ वटामा एकै पटक मतदान गर्न सकिने भएकाले छिटै नतिजा आउने राप्रपाको भनाइ छ । उम्मेदवारी शुल्क कम्तीमा १५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै अध्यक्षमा उम्मेदवारी दिन चाहनेले एक लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेद्वारी दर्ता गराएका छन् भने महामन्त्रीमा रेखा थापाले उम्मेद्वारी दर्ता गराएकी छन् । राप्रपामा एक अध्यक्षसहित ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् त्यस्तै १ सय ४१ केन्द्रीय सदस्य पनि निर्वाचनबाटै आउने राप्रपाले जनाएको छ ।