नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८ सय ८ मत प्राप्त गर्दै भारी मतान्तरले अध्यक्षका अर्का प्रत्यासी भीम रावललाई पराजित गरेका हुन् । दुई हजार १५३ महाधिवेशन प्रतिनिधि भएको एमालेको निर्वाचनमा जम्मा दुईहजार ९२ मत खसेको छ ।
त्यस्तै, १९ सय छयत्तर मत हासिल गर्दै अष्टलक्ष्मी शाक्य एमालेको उपाध्यक्षमा सर्वाधिक मत प्राप्त गरेकी छन् । यसका अतिरिक्त, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल उपाध्यक्षमा निर्वाचित भएका छन् ।
महाधिवेशनबाट ७ जना सचिवमा निर्वाचित भएका छन् । केही बेरअघि सकिएको मतगणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ एमाले सचिवमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सचिवमा उम्मेदवारी दिने भीम आचार्य र टंक कार्की पराजित भएका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो। १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।