नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक दलहरु संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको बताएका छन् ।
मंगलबार काठमाडौंमा लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले दलहरु संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै समस्याहरू आफै समाधान हुने बताए । उनले ०४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी समेत गरे । राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्ने उनको भनाई छ । ठूलो संघर्षबाट प्राप्त भएको मुलुकको प्रजातान्त्रिक व्यवस्थालाई बचाउनका लागि भएपनि अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिँदै सबल र सक्षम बनाउनुपर्ने धारणा सिंहले राखे ।
नेता सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई आफू अनुकुल बनाउन खोज्दा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तन गुम्ने खतरा पैदा हुने जिकिर गरे ।