नेकपा माओवादी केन्द्रले पार्टीको विधान परिमार्जनका लािग उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । देव गुरुङ, पम्फा भुषाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको उपसमितिलाई मंसिर २५ गतेभित्र मस्यौदा तयार गर्ने जिम्मा दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । त्यस्तै बैठकले प्रत्येक प्रदेशबाट ३० जना प्रतिनिधि सहभागी हुने गरी कार्यविधि तय गरेको छ भने महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि दुई हजार शुल्क तोक्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता महराले जानकारी दिए । बैठकले हितमान शाक्यको संयोजकत्वयमा सम्मेलन व्यवस्थापन उपसमिति, प्रवक्ता महराको संयोजकत्वमा प्रचार प्रसार उपसमितिसमेत गठन गर्दै स्वाथ्य र स्वयंसेवक उपसमिति पनि बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले लेखा समितिको प्रतिवेदन सार्वजनिक गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता महराले बताए ।
बैठकमा हेरक प्रदेशका कमिटीमा घाइते अपांगलाई समेटनुपर्ने विषयमा समेत छलफल भएको प्रवक्ता महराले बताए ।