आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमण गर्नबाट इजरायलले लगायो रोक

हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखा परेपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ । हाल कुनै थप प्रतिबन्धहरुको घोषणा नभएतापनि इजरायलले अहिलेका लागि आफ्ना नागरिकहरुलाई अफ्रिकी देशहरुको भ्रमणमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

बिहीबार इजरायलले सात ओटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामा शनिबार सबै अफ्रिकी देशमा नजान आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो । त्यस्तै इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन समेत भनेको छ ।

यो नयाँ भेरिएन्ट विश्वका विभिन्न देशहरुमा देखिन थालिसकेको समाचारहरु आएका छन् । उता यो भेरिएन्ट भेटिएपछि बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको छ । त्यस्तै अष्ट्रेलियामा पनि अफ्रिकी देशहरुबाट हुने यात्रमा कडाइ गरिएको छ । अष्ट्रेलियाले अरु देशबाट आउने उडानहरुका साथै विशेष गरी अफ्रिकी देशको यात्रामा थप निगरानी बढाएको जनाइएको छ ।

हालै अफ्रिकामा देखिएको यो भेरिएन्ट अहिलसम्मकै सबैभन्दा बढी खतरनाक पाइएको अनुसन्धानबाट देखिएको छ । यो भेरिएन्ट देखिएपछि यसको अनुसन्धान सुरु भएको बताइएको छ ।