प्रचण्डको आरोप, “ओली विदेशी शक्तिसँग साँठगाँठ गरेर षड्यन्त्रमा लागेका छन्” ​

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पटक संसद् विघटन गर्ने ओली, संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने गणतन्त्र विरोधी भएको बताएका हुन् । ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था नै उल्ट्याउने खालको षड्यन्त्र गरेको उनले बताए । प्रचण्डले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको आरोप लगाए ।

२०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदाको समझदारी ओलीले अस्वीकार गर्दा समस्या उत्पन्न भएको प्रचण्डको आरोप छ । उनले फेरि एकपटक माओवादी विजयी भएको बताउँदै सडकबाटै प्रतिगमनको विरोध गरेको बताए । अहिले गठबन्धन बनाएर नेकपा माओवादी केन्द्र अघि बढिरहेको र आफूहरु पार्टी पुनःनिर्माणमा लागिपरेको प्रचण्डले बताए ।