राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि लिङ्देनद्वारा तीन अध्यक्षलाई ठाडो चुनौती: परम्परागत गुट अन्त्य गर्छु

राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको महामन्त्री समेत रहेका नेता लिङदेनले बिहीबार दरबारमार्गस्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै लिङदेनले जित्नकै लागि उम्मेदवारी घोषणा गरेको र आफ्नो उम्मेदवारीले अन्य दलहरुलाई समेत चुनौती हुने दाबी समेत गरे । अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै पार्टीको परम्परागत गुट अन्त्य गर्ने प्रतिबद्धता उनले जनाए । त्यस्तै पार्टीको वर्तमान नेतृत्वलाई सहज रूपमा नेतृत्व हस्तान्तरण गर्न र अभिभावकीय भूमिकामा रहन पनि लिङ्देनले आग्रह गरे । पार्टीमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने लिङ्देनको भनाइ छ ।

लिङदेनलाई नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको पनि समर्थन रहेको छ ।
राप्रपाको आगामी महाधिवेशन मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुँदैछ जसमा लिङदेनले कमल थापासँग प्रतिष्पर्धा गर्नेछन् ।