परराष्ट्रको निर्णयले एनआरएनएमा ल्यायो नयाँ ट्वीस्ट : वर्तमान नेतृत्व विघटन, कसलाई दिइयो चुनावको जिम्मा ?

गैरआवाशीय नेपाली संघ एनआरएनएको आगामी डिसेम्बर १५ मा हुने निर्वाचनको जिम्मेवारी निर्वाचन संरक्षक समितिलाई दिनु भन्दै परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

निर्वाचन मिति तय भएको केही दिनमा नेपालको परराष्ट्रले निर्वाचन संरक्षक समितिलाई नै निर्वाचन सम्पन्न गर्न दिनु भन्दै एनआरएनए लाई निर्देशन दिएको हो ।

प्रतिनिधि विवादका विषयमा ६५ प्रतिशत प्रतिनिधिसमेत नयाँ कार्य समितिलाई छान्न दिनुपर्ने निर्देशन परराष्ट्रले दिएको छ । परराष्ट्रको यो निर्देशनपछि एनआरएनएको वर्तमान कार्यसमिति विघटन भएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वको कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरिएको परराष्ट्र स्रोतले बतायो ।

मन्त्रालयले आजै सोमवार अध्यक्ष कुमार पन्तलाई पठाएको पत्रमा अक्टोवर १८ मा केन्द्रिय समितिको कार्यकाल समाप्त भएकाले निर्वाचन गराउने जिम्मा संरक्षक समितिलाई दिन भन्दै उल्लेख गरिएको छ । वर्तमान कार्यसमितिले निर्वाचन समयमा गराउन नसकेपछि प्रमुख संरक्षक शेष घलेलाई निर्वाचनको जिम्मा दिने निर्णय गर्दै अध्यक्ष पन्तले विज्ञप्ती नै सार्वजनिक गरेका थिए तर उक्त निर्णयको संरक्षक जीवा लामिछाने, उपाध्यक्ष बद्री केसी र महासचिव हेमराज शर्माले विरोध गर्दै कुनै पनि हालतमा प्रमुख संरक्षक घलेलाई निर्वाचनको जिम्मा दिन नसक्ने भन्दै उक्त निर्णयबाट पन्तलाई पछाडि हट्न बाध्य बनाएका थिए । अन्तत परराष्ट्र मन्त्रालयको निर्देशन अनुरुप प्रमुख संरक्षक शेष घलेले नै निर्वाचनको जिम्मेवारी वहन गर्नु पर्नेछ ।