पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै विप्लव नेतृत्वको नेकपाआवद्ध जनवर्गीय संगठनहरुले आयल निगममा धर्ना दिएका छन् ।

काठमाडौंको टेकुस्थित निगमको कार्यालय घेराउ गरी उनीहरुले धर्ना दिएका हुन् । जनताको ढाड सेकिनेगरी सरकारले मूल्यवृद्धि गरेको र यसका असर चौतर्फी रुपमा परेको भन्दै उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिँदै उनीहरुले नाराबाजीसमेत गरेका छन् । जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य वस्तुको समेत मूल्य बढ्ने भएकाले मूल्य घटाउनुपर्ने उनीहरुको भनाई छ ।