नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मंसिर ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने बेला आएको भन्दै मार्चपास गर्न लागिएको जानकारी दिएका हुन् ।
श्रेष्ठले बालुवाटारमा नै धेरै कुरा तय हुने भएको र प्रधानन्यायाधीश लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्चपास गरिने जिकिर गरे । उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने उनले स्पष्ट पारे ।
प्रधानन्यायाधीशको राजीनामा नआए शुक्रबार बारले अर्को चरणको आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
त्यस्तै बारमा आयोजित विरोध सभामा अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीशलाई अब पदमा बस्ने कुनै अधिकार नभएको बताइन् । प्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लाग्दा पनि सांसदहरु चूप लागेर बस्नु बिडम्वना भएको उनको भनाइ छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले विगत तीन हप्तादेखि निरन्तर सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । यसअघि बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरुलाई धारणापत्र बुझाएको थियो ।