अहिले धेरै चर्चाको विषय हो मन्त्री परिषद कहिले विस्तार होला ?
चर्चा र बहसमा रहेको यही विषयको वरिपरी छ नेकपा एमालेको फुट र माधव नेपाल नेतृत्वमा बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी ।
गत असार २९ गते प्रधानमन्त्री बनेपनि शेर बहादुर देउवाले माधव नेपाल समुहलाई सरकारमा साझेदारी गराउने निचोडका साथ सरकार विस्तार नगर्नुभएको प्रष्ट हुँदै गएको छ । तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता समेत रहनुभएका माधव कुमार नेपाल समुहको समर्थनमा सरकारको नेतृत्वमा पुग्नुभएका प्रधानमन्त्री देउवाले अब भने छिट्टै सरकार विस्तार गर्ने देखिएको छ । नेकपा एमालेमै रहँदा सरकारमा सहभागि हुन नैतिक र कानुनी रुपमा असहज हुने भएपछि माधव नेपाल समुहलाई पार्टी विभाजनका लागि सहज होस भन्ने ध्येयका साथ सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएको थियो । यही अध्यादेशलाई टेकेर माधव नेपाल समुहले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराई सकेको छ । राष्ट्रिपतिले अध्यादेश स्वीकृत नगर्दै दल दर्ताको तयारी गरेको यस समुहले अध्यादेश स्वीकृत भएकै दिन दल दर्ता गराएर सरकारमा जाने बाटो स्पष्ट पारिसकेको छ । तत्कालका लागि केही मन्त्री र राजनीतिक नियुक्तिमा प्रथमिकतामा माधव पक्षिय नेता तथा कार्यकर्तालाई अगाडि बढाउने गठबन्धनको सहमति भएको बुझिएको छ । यसको केही अभ्यास बागमती प्रदेश प्रमुख र रेल विभागको प्रमुखको नियुक्तीले पनि प्रष्ट्याई सकेको छ । पार्टी विभाजन गरेर नयाँ दल गठन गरेका माधव नेपाल पक्षका भनिएका केही नेताले अन्तिम समयमा छाडेको साथ र समर्थनले नेपाल नेतृत्वको पार्टीको दिर्घ जीवनका बारेमा भने प्रश्न उठाएको छ । नेपाल नजिक मानिने सुरेन्द्र पाण्डे, रघुजि पन्त, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, गोकर्ण विष्ट, भिम रावल, अमृत कुमार बोहोरा, योगेश भट्टराई लगाएतका प्रभावशाली नेताहरु उहाँको पक्षमा देखिएका छैनन् । तथापी उहाँहरु केपी ओली तर्फपनि खुलेर लागेको भन्ने छैन । मध्यमार्गी र पार्टी एकताका लागि लागिरहेका नेतासंगै नेपालको पक्षमा खुलेर लागेका केही नेताहरु तठस्थ बस्नुभएको छ । यसैगरी ओली तर्फ खुलेका नेताहरुपनि पछिल्लो समय कतिपय नेपाल समुहमा लाग्नुभएको छ भने केही तठस्थ रहुनभएको छ । दुवै तर्फ उस्तै–उस्तै परिदृश्यहरु देखिएका छन् । सूर्य चिन्ह लिएर निर्वाचनमा जानेहरुलाई जति सहज हुन्छ त्यो भन्दा धेरै गुणा असहजता माधव नेपाल पक्षलाई पक्कै हुनेछ ।
दोस्रोतहका केही नेता सहमतिको अन्तिम प्रयास गर्दै
सुक्रवार साझ सम्म पनि नेकपा एमालेका दोस्रो तहका केही नेताहरु पार्टी एकतालाई जोड दिनुपर्ने दवाव दिँदै छन् । अर्थात पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न नेतृत्वलाई अनुरोध गरिरहेका छन् । सुक्रवार साँझ मात्रै सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, भिम रावल, गोकर्ण विष्ट, युवराज ज्ञवाली, घनश्याम भुषाल, भीम आचार्य, योगेशे भट्टराई, रघुजी पन्त लगाएतका नेताहरुले विज्ञप्ति जारी गर्दै एकताका लागि आग्रह गरेका छन् । तर उहाँहरुको आग्रह र अनुरोधले अब तत्काल पार्टी एकता हुन्छ भन्ने बारे भने धेरै कमलाई मात्र विश्वास रहेको देखिन्छ ।
सरकारलाई सहजता
माधव नेपालाई कुरेरै भएपनि सरकारको साझेदार बनाउनुपर्ने सत्ता साझेदार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडवल र प्रधानमन्त्री शेर बहादुर देउवाको सोचले सार्थकता पाएको छ । धेरैले भन्ने गरेका छन् प्रधानमन्त्री देउवाले माधव नेपाललाई कुरेकै कारण सरकार विस्तार गर्नु भएको छैन । माधव नेपाल पक्षले नयाँ दल दर्ता गराएर सरकारमा सहभागि हुने जनाई रहेका बेला जनता समाजवादी पार्टीको महन्त ठाकुरले पनि नयाँ दल दर्ता गराएर सरकारमा सहभागि हुने संकेत देखाउनुभएको छ । यसले सरकार अझै केही बलियो भएपनि मन्त्रीको बाँडफाँड र नियुक्तीहरुको व्यवस्थापनमा केही मिलाउनुपर्ने हुनसक्छ । सरकारमा सहभागि दलहरुको संख्या बढ्दै जाँदा मन्त्री र नियुक्तीका लागि आकांक्षीहरुको संख्या बढ्ने भएका कारण सरकारलाई यसको व्यवस्थापन अर्को जटिलता हुन सक्ने देखिन्छ । यसका बावजुत पनि माधव नेपाल र महन्त ठाकुरको नयाँ दलले साथ दिए सरकार बहुमतको बन्ने छ । जसले सरकारलाई आफ्ना काम गर्न सहज हुने भने पक्का छन् । यसले सरकारको लोकप्रियता बढाउन र आफ्ना नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा जनताकोबीचमा लैजान सहयोग अवश्य पुग्ने छ ।