हलमा मान्छे खचाखच थिए । सबैको नजर अडिएको थियो अगाडि मञ्चमा आसीन मेस्सीमाथि । उनको कुरा सुन्न सबै आतुर देखिन्थे । त्यस हतारमा थोरै नैराश्यता पनि मिसिएको थियो किनकी सबैका प्रिय खेलाडी लियोनल मेस्सी केही क्षणमै बार्सिलोना क्लबबाट बिदा हुन लागेका थिए ।
सुन्दा अचम्म लाग्न सक्छ, आखिर खेलाडीहरु त आफ्नो अवस्था अनुकुल क्लब फेरिरहन्छन् अथवा कुनै खेलाडीले इतिहासमै पहिलो पटक क्लब छोडेको त पक्कै होइन त्यसो भए यति धेरै दुखमनाउ किन ? फ्यानदेखि लिएर मेस्सी आफै पनि किन दुखी देखिए ?
खासमा मेस्सी र स्पेनिस फुटबल क्लब बार्सिलोनाको सम्बन्ध कुनै सामान्य क्लब र खेलाडी बीचमा हुने भन्दा केही फरक र विशेष छ । यो यसकारण पनि हो कि जबदेखि मेस्सीले फुटबलमा भविष्य पहिल्याए त्यो बेलादेखि नै उनी बार्सिलोना क्लबबाट खेल्दै आएका छन् । अझै स्पष्ट रुपमा भन्नुपर्दा फ्यानहरुले मेस्सीलाई कुनै अर्को क्लबको जर्सीमा खेलेको देखेकै छैनन् । मेस्सीको झण्डै ३ दशक लामो फुटबल यात्रामा सहयात्री बनेको बार्सिलोनासँगको व्यवसायिक सम्बन्धमा आज पूर्णविराम लागेको छ । त्यसैले उनी भावुक नहुने कुरै भएन । मञ्चमा आफ्ना कुरा राख्दाराख्दै एकाएक भक्कानिए उनी । उनलाई त्यस्तो अवस्थामा देखेर दर्शकमाझ बसेका उनका श्रीमती र छोराहरु पनि भावुक देखिए । त्यस सभामा उपस्थितहरुमध्ये आँखा नरसाउने शायदै कोही थिए ।
“म यस्तो बिदाईको हकदार थिइन । म चाहन्थ्ये दर्शकले पुरा भरिएको रंगशाला जहाँ उनीहरु उठेर ताली पिटिरहेको हुनेथिय र एकपटक मेरो नामले सिंगो रंगशाला गुञ्जयमान हुने थियो। दर्शक बिना पुरा सिजन खेल्दा मैले उनीहरुलाइ धरै मिस गरेको छु। ” मेस्सीले भक्कनिदै भने।
उनले बोल्दै गर्दा बार्सिलोनाबाट आफूले कसरी बिदाइ हुने भनेर कहिल्यै नसोचेको बताएका थिए ।
उनले आफ्नो बिदाइ वक्तव्यमा भने, “मलाई अझै पनी विश्वास भइरहेको छैन कि म यो क्लब, यो ठाउँ र मेरो जिन्दगी नै परिवर्तन गर्न गइरहेको छु । अब मैले शून्य बाट शुरू गर्नु पर्छ, यो मेरो परिवारको लागि पनि एउटा ठूलो परिवर्तन हो । यो शहर छोड्न कठिन छ । तर हामी ठीक हुनेछौै । यस परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्नेछ ।
म यस क्लबमा विनम्रता र सम्मानसँग हुर्केको हुँ त्यसैले मैले खेलमैदानमा दिएको प्रस्तुतिसाथै यस्ता असल स्वभावको आधारमा मानिसहरुले मलाई याद गरुन् भन्ने चाहान्छु ।
म अझै पनि यस क्लबका लागि धेरै खेलहरु जित्न चाहान्थिएँ ।”
आफू र बार्सिलोनाबीचको सम्बन्धको अन्त्य यसरी औपचारिकतामा भन्दा पनि फ्यानहरुले भरिएको स्ट्याडियममा आफ्नो अन्तिम खेल प्रस्तुत गरेर, दर्शकबाट अन्तिम पटक ताली र प्रशंसा बटुलेर हुने सपना देखेको बताउँदै गर्दा मेस्सीले दर्शकहरुलाई झन् भावुक बनाएका थिए ।
यस्तैयस्तै व्यक्तिगत अनुभव र क्लबसँगको सम्बन्धको बारेमा भन्दै गर्दा उनी अचानक भक्कानिए । माहोल परिवर्तन भइदियो । उनको वक्तव्यको अन्त्यमा उपस्थित सबैले उठेर उनको सम्मानमा निकै बेरसम्म ताली बजाए ।
चाहे खेल क्षेत्रमा अब्बल प्रस्तुति दिएर विश्वमै उत्कृष्ट खेलाडीका रुपमा आफूलाई उभ्याएर होस् या परिवारमा एक असल पति र पिताका रुपमा सफल भएर मेस्सीले आफूलाई कला र व्यवहारको उदाहरणका रुपमा स्थापित गर्दै आएका छन् । तर उनको व्यक्तित्व एक असल मित्रका रुपमा पनि उत्तिकै फस्टाएको पुष्टि भएको छ । उनीसँगै खेलमैदान साझा गरेका उनका मित्रहरुले उनको बिदाइपश्चात् निकै भावुक स्टाटस राख्दै मेस्सीले खेलमार्फत् रचेको इतिहासको स्मरण गरेका छन् ।
जेरार्ड पिकेले आफूहरुको भेट भएको समयदेखि बार्सिलोनाको लागि सँगै खेलेको, हारजितको अनुभव आदिका बारेमा लेख्दै अबको दिनमा जुनसुकै टिमबाट खेलेपनि मेस्सीले आफ्नो अब्बल खेल कौशलमार्फत् सधै सफलता हासिल गर्नसक्ने भन्दै आफ्नो र मेस्सीको तस्वीर इन्स्टाग्राममा राखेका छन् ।
त्यसैगरी आफ्नो र मेस्सीको खेलमैदानमा खिचिएको पुरानो तस्वीर शेयर गर्दै सेस फब्रेगासले मेस्सी पहिलो पटक बार्सिलोना क्लबमा खेल्न आएको दिनको स्मरण गर्दै लेखेका छन्, “मलाई अझै याद छ तिमी १३ वर्षको हुँदा पहिलो पटक हाम्रो लकर रुममा आएको, हाम्रो कोचले अर्जेन्टिनाबाट नयाँ खेलाडी आएको र ट्रेनि गर्दा तिमीसँग अलि कडा रुपमा प्रस्तुत हुनु भनेको । त्यहीवेलादेखि मलाई तिमीमा केही विशेष कला छ भन्ने कुरामा विश्वास भइसकेको थियो । तिमी इतिहासकै उत्कृष्ट खेलाडी भएका छौ र अबको दिनमा तिमीविना बार्सा फेरि कहिल्यै उस्तै रहने छैन । मैदानमा जति प्रतिस्पर्धी छौ त्यति नै वास्तविक जीवनमा नैतिकवान र विनम्र पनि । तिमी जहाँ गएपनि मेरो शुभकामना सधै तिमीसँगै रहने छ ।ʺ
सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै क्लबलाई खबर गरेका थिए । तर बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भए मात्र मेसीले क्लब छाड्न सक्ने बताएको थियो । जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुन सकेका थिएनन् ।
मेस्सीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए । जुन सम्झौताको अवधि सकिएपश्चात् बार्सिलोनाले मेस्सीसँगको सम्झौता नवीकरण गर्न असक्षम भएको बताएको थियो । आर्थिक र संरचनागत अवरोधका कारणले उनलाई क्लबमा राख्न नसक्ने भएको बार्सिलोनाको भनाइ छ ।
मेस्सीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष भएको छ । उनी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए ।
त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन् । मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन् । उनले बार्सिलोनामा रहँदा ३५ उपाधि जितेका छन् जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन् । उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन् । मेस्सीले अबको दिनमा पिएसजी क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मेस्सीले बिदाइका क्रममा रुँदै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मेस्सीका फ्यानमात्र नभएर विश्वभरिका फुटबल पारखीहरुले यसलाई ऐतिहासिक क्षणका रुपमा परिभाषित गरेका छन् ।