कोरोनाको बढ्दो जोखिम कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगित गरेको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको आज बसेको बैठकले अन्तिम तयारी पूरा गरिसकेको परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
कक्षा ११ को परीक्षा हाल भौतिकरूपमा होमसेन्टरमा सञ्चालन भइरहेको अवस्थामा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । कोरोना महामारीको तेस्रो लहर शुरु हुने क्रममा अभिभावक, विद्यार्थी मात्र नभएर राजनीतिक तहबाटै हाल परीक्षा सञ्चालन नगर्ने दबाव आएकाले बोर्डले सो निर्णय लिएको बताइएको छ ।
परीक्षा कहिले र कसरी सञ्चालन हुन्छ भन्नेबारेमा बोर्डको अर्को बैठकले निर्णय गरी परीक्षा सञ्चालन हुनुभन्दा १५ दिन अगाडि नै सूचना सार्वजनिक गरिने जानकारी दिइएको छ ।
अर्कातिर भने राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले देशभरिबाट कक्षा १० मा अध्यनरत चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको हो ।

कोरोना भाइरस सङ्क्रमण बढेपछि यस वर्ष पनि अघिल्लो वर्षर्झै विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।
यद्यपि, कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।
कोरोनाका कारण नेपालको शैक्षिक क्षेत्रमा ठूलो धक्का पुगेको देख्न सकिन्छ । विद्यार्थीको भविष्य यसवेला अनिश्चिततामा अल्झिएको छ ।