नेपाल–युके सम्बन्ध स्थापनाको सय वर्ष पूरा

काठमाडौं। नेपाल र संयुक्त अधिराज्य(युके)बिच संबन्ध स्थापना भएको सय वर्ष पुरा भएको छ। नेपाल र संयुक्त अधिराज्य(युके)का बिचमा सन् १९२३ डिसेम्बर २१ मा दौत्य सम्बन्ध कायम भएको थियो।

बिहीबार नेपाल र युकेका बिचमा दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको हो। दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले नेपाल–युके सम्बन्धको सय वर्ष मित्रता, आपसी सहयोग र सद्भावका साथ अगाडी बढेको बताए।

उनले दुई देशका बिचमा राजनीतिक, आर्थिक, पर्यटनको क्षेत्रमा सम्बन्ध भएको उल्लेख गरे। त्यस्तै व्यापार, लगानी, गोर्खा सैनिकदेखि जनताको तहसम्म सम्बन्ध प्रगाढ रहेको उनले बताए। दुई देशका बिचमा प्रजातन्त्र, मानव अधिकार, कानुनी शासन, स्वतन्त्रताको सवालमा एकै प्रकारको अवस्था रहेको उनले उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त अधिराज्यका राजदूत रोब फेनले नेपाल विगतदेखि नै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गरे। उनले अहिले नेपाल विश्वमाझ चिनिएको र नेपाल धेरै मन पराइएको राष्ट्रको रुपमा रहेको उल्लेख गरे। उनले नेपालको सहयोगी राष्ट्र हुन पाएकोमा युकेले गर्व गर्ने बताए।