नियम नमान्ने दुई औषधी पसलमा बालेनको ताला

काठमाडौं। काठमाडौं महानगरपालिकाले नियम नमान्ने दुईवटा औषधि पसलमा ताला लगाइदिएको छ। बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटक सधैँका लागि बन्द गरिदिएको हो।

ठमेलमा रहेको हिमालय स्टोर र वडा नं.३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलमा महानगरपालिकाले सिलबन्दी गरेको हो। महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कानुनबमोजिम दर्ता नभएका, एउटा प्रयोजनमा दर्ता भएर अर्को काम गरिरहेको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकाले सिलबन्दी गरिएको बताए।

उनका अनुसार अर्को एउटा पसललाई भने सुधारका लागि १५ दिनको म्याद दिइएको छ। वडा नं.१ मा रहेको कृषि आयुर्वेदिक फार्मेसीलाई सुधारकलागि १५ दिनको समय दिइएको उनले बताए।