रवि लामिछानेले मागे मन्त्री सुदन किरातीको राजीनामा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मन्त्री किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार रहेकाले पदीय गरिमा जोगाउन मन्त्रीमण्डलबाट बाहिरिनु पर्ने बताएका छन्।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ।’उनले फेसबुकमा लेखेका छन्,‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु,गम्भीर ध्यानाकर्षण होस्।’

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित यस्तो माग गरेका हुन्।

मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको थापाको भनाइ छ। सोहीकारण मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्नेमा उनले जोड दिएका छन्।