रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना,पाँच जनाको मृत्यु, ९ जना घाइते

काठमाडौं। रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आठबीसकोट नगरपालिका–१० को कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटनामा परेको हो। भित्री सडकखण्ड हुँदै वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको जस्तापाता बोकेको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा गएराती दुर्घटनामा परेको हो।

दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी, सोही वडाका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ।

दुर्घटनामा अन्य नौजना घाइते भएका छन्। घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नं १० का ३८ वर्षीय रमेश सार्की, वडा नं ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन्।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेकोले खोजी कार्य जारी छ।