काठमाडौँ। अबैध रुपमा भएको सुन प्रकरणबारे सुन तस्करीबारे जाँचबुझ आयोगले तस्करीमा संलग्न ३१ जनासँग बयान लिएको छ । पूर्व सभामुख कृष्णबहादुर महराका पुत्र राहुल लगायतका आरोपीहरूसँग आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन् ।
अहिलेसम्म ३१ जनासँग सोधपुछ गरिएको जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न आरोपीहरू र विद्युतीय चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीमा संलग्न आरोपीहरूको बयान लिइएको हो ।
मुद्दा पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । थुनामा रहेका २० जना नेपाली नागरिक, चिनियाँ नागरिक ९ जना र अदालतले तारेखमा रिहा गरेका २ जना सोधपुछ गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।
आयोगले पुस १५ भित्र सुन तस्करीको कारण, नियन्त्रणका उपाय र कानुनमा गर्नुपर्ने संशोधनबारे सुझाव सहितका प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।