
काठमाडौं। विवाह पञ्चमी आज देशभर मनाइँदैछ। आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो।
विशेष गरि जनकपुरधाममा सीता र राम विवाहलाई महोत्सवका रुपमा आज विधिपूर्वक मनाइँदैछ।विवाह महोत्सवका लागि शनिबार जानकी मन्दिरबाट बाजगाजाका साथ साधुसन्तहरुसहित मैथिली महिलाले जनकपुरधामको गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर पु¥याएका थिए ।
विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधिका साथ पूजा गरेर विवाह पञ्चमीको महोत्सव समापन हुनेछ। आज भगवान् राम सीताको स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरले जनाएको छ।
विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ। रङ्गभूमि मैदान(बाह्रबिघा)मा गएको सोमवारदेखि बनाउन शुरु गरिएको सीतारामको प्रतिमा अस्ति बेलुका सम्पन्न भएको थियो। प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन्। प्रतिमा आज र भोलि पनि हेर्न पाइनेछ।
वैवाहिक कार्यक्रममा भारतको अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीयको सहभागिता रहने पनि जनाइएको छ। त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए।
शिवधनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको धुमधामकासाथ विवाह भएको थियो। विवाह पञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।