विभिन्न प्रलोभनमा पारेर इजरायलमा पठाउने गिरोह सक्रिय, सचेत रहन विभागको आग्रह

काठमाडौं। विभिन्न प्रलोभनमा नेपालीहरुलाई इजरायल पठाउने गिरोह सक्रिय बनेको पाइएको छ। वैदेशिक रोजगार विभागले एक सुचना जारी गर्दै इजरायलमा रोजगारीको प्रलोभन देखाएर नेपाली पठाउने र समस्यामा पार्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउने काम भइरहेको विभागले जनाएको छ ।

यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइ नसकेको विभागको भनाइ छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहहरूले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत रहन अनुरोध गरेको हो ।

कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अरु क्षेत्रमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन विभागले भनेको छ । यस्तो खालको ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भैरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागले विशेष अनुरोध गरेको छ।