काठमाडौं।मानवसेवा आश्रमको कार्यक्रम ‘आमा सेमिनार’ अष्ट्रेलियामा पनि महिनाव्यापी रुपमा गरिने भएको छ। गोरखा समाज अष्ट्रेलियाको आयोजनामा फेब्रुअरी १३ देखि मार्च १३ अर्थात फागुन महिनाभर अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार आयोजना गर्न लागिएको हो।गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले अष्ट्रेलियाको विभिन्न शहरमा हुने सो कार्यक्रमको उद्देश्य मानवता,राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने आमाबुबा र मातृभुमिप्रति महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन–जनमा पु¥याउनु रहेको जानकारी दिएका छन्।
नेपालका विभिन्न जिल्ला र शहरहरुमा आमा सेमिनार गर्दै आएको आश्रमले गत महिना बेलायतमा सफतलापूर्वक आमा सेमिनार सम्पन्न गरेको थियो। विदेशमा रहेका नेपालीलाई देश र देशप्रतिको माया सद्धभाव र स्नेह बढाउने लक्ष्यसहित मानवसेवा आश्रमले विदेशी भूमिमा समेत आमा सेमिनार गर्ने भएको हो। अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, बेल्जियम,जर्मनी, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल, जापान, हङकङ र कोरिया लगायतका राष्ट्रहरुमा आमा सेमिनार भव्यता साथ गर्ने तयारी रहेको मानवसेवा आश्रमले जनाएको छ।
विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आएका संस्थाका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुति गर्नेछन्। अष्ट्रेलियामा एक महिनासम्म हुने आमा सेमिनारमा त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुको प्रत्यक्ष उपस्थिती सहित यसको लाभ लिन अनुरोध गरिएको छ।सडकमा रहेका बा–आमाको सेवा तथा संरक्षणमा जुटेको मानवसेवा आश्रमले जन्मदाताप्रति सन्तानको दायित्व, सामाजिक दायित्व बोध गराउन र समाजमा सकारात्मक सन्देश दिन उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ।
यद्यपि, गोरखा समाज अष्ट्रेलियाको समन्वयमा मानवसेवा आश्रमले अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको थियो।उक्त महायज्ञबाट मानवसेवा आश्रम गोरखा शाखाको भवन निर्माणको लागि १२ लाख सहयोग गरेको गोरखा समाज अष्ट्रेलियाले अब अष्ट्रेलियामा आयोजना हुने सम्पूर्ण कार्यक्रमको संयोजन गर्ने भएको छ।