काठमाडौं। नेपाल भारत सिमा क्षेत्र जोगबनीमा नेपाली युवामाथी गोली प्रहार भएको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि हिजो राती अज्ञात समुहले सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा गोली प्रहार गरेको हो।
बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए। संग्रौलाको अवस्था खतरामुक्त रहेको दाहालले बताए।
घटना भारतीय भूमिमा भएकाले घटनाको अनुसन्धान पनि भारतीय प्रहरीले नै गर्ने उनले बताए। यद्यपी भारतीय प्रहरीसँग समन्वय गरेर दोषीलाई पक्राउ र कारबाहीको लागि पहल गर्ने उनको भनाई छ।
दैनिक उपभोग्य खाद्यवस्तु खरिदका लागि जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन्। गोली लागेर घाइते भएका संग्रौलालाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी कोशी अस्पताल पुराएको थियो।