पोर्चुगलसँग पर्यटन,लगानी प्रवर्द्धनमा जोड दिनेछुःराजदुत नेपाल

काठमाडौं। पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले पोर्चुगलसँग पर्यटन र लगानी प्रवर्द्धनमा जोड दिने बताएका छन्। शुक्रबार संसदीय सुनुवाइमा नेपालले पोर्चुगलमा राजदूतावास स्थापनापश्चात त्यहाँ रहेका नेपाली नागरिकहरुको हकहित संरक्षण एवम प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा पनि योगदान पुग्ने धारणा राखे।

सरकारको पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण रहेको औंल्याउँदै उनले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको संख्या बढीरहेकाले उनीहरुको हक हितको संरक्षण गर्न तथा उनीहरुलाई आवश्यक कन्सुलरलगायतका सेवा सहज रुपमा प्रदान गर्न सकिने बताए।

पोर्चुगलको आधिकारिक तथ्यांक अनुसार त्यहाँ झन्डै २५,००० नेपालीहरुको बसोबास रहेको बताइए पनि वास्तविक संख्या ७०,००० भन्दा पनि बढी हुन सक्ने अनुमान गरिएको छ। दूतावास स्थापनाले त्यहाँ रहेका नेपालीहरुका लागि सहज हुने बताउँदै उनले भने,‘पोर्चुगल हेर्ने जिम्मेवारी तोकिएको नेपाली राजदूतावास पेरिसमा रहेको हुँदा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको राहदानी तथा कन्सुलर सेवाका लागि व्यावहारिक कठिनाइ अब अन्त्य हुनेछ।’

त्यस्तै उनले पोर्चुगल यूरोपियन यूनियनको एउटा महत्वपूर्ण सदस्य राष्ट्र भएको र आउँदो सन् २०२६ मा दुवै देश बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुरा हुने स्मरण गरे। उनले इजरायल नेपालीहरुका लागि कृषि प्रविधि सिक्न असुरक्षित देखिएकाले पोर्चुगल एउटा सुरक्षित गन्तव्य हुन सक्ने बताए। उनले भारतको गोवामा हरेक वर्ष हजारौं पोर्चुगिज नागरिकहरुले भ्रमण गर्ने गरेको बताउंदै उनीहरुलाई त्यहाँ बाट नेपाल ल्याउन नेपाल पर्यटन बोर्डसंग समन्वय गरी ‘समुद्रदेखि सगरमाथा सम्म’ भन्ने कार्यक्रम संचालन गर्न आफुले पहल गर्ने पनि बताए।

सांसदहरुका प्रश्नको जवाफ दिंदै शनिल नेपालले नेपालबाट उत्पादित वस्तुहरु पोर्चुगल तथा युरोपेली बजारमा बिक्री वितरण गर्न पहल गर्ने, फुटबल खेलको विकासमा पोर्चुगलको सहयोग जुटाउन तथा जलश्रोत, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी भित्र्याउन पहल गर्ने आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।