काठमाडौँ। काठमाडौँको सामाखुसीमा रहेको फिस्टेल ओभरसिज प्रालिले युएई पठाउँदा ६० गुण बढी रकम असुली गरेको पाइएको छ। मासिक १ लाखभन्दा बढी तलब हुनछ भन्दै रकम असुलेर युएईमा पुराएर अलपत्र पारेपछी फिस्टेलविरुद्ध विभागमा उजुरीसमेत परेको छ।
पाँच महिना अघि युएई पुर्याएर अलपत्र पारिएका युवाहरु कम्पनीसमेत देख्न नपाई आफ्नै खर्चमा गत बिहिबार नेपाल फर्किएका छन्।समस्यामा परेका सातमध्ये चारजना नेपाल आईपुगेलगत्तै वैदेशिक रोजगार विभाग पुगेर उजुरी दिएका हुन्। अलपत्र परेका तीनजना युवाहरु भने ‘ओभरस्टे’को समस्याका कारण फर्किन पाएका छैनन्।
पीडित युवाहरुले प्रतिव्यक्ति ६ लाख तिरेर युएई रोजगारमा गएको बताएका छन। कम्पनीमा ‘ड्राइभर’ पदमा लगिएको तर पुगेपछि कम्पनी समेत नदेखाई एजेन्टको जिम्मा लगाइ अलपत्र पारिएको युवाहरुले बताएका छन्। उक्त मेनपावरले अन्य ८ जना युवासँग पनि चर्को लागत अग्रिम अशुली गरेर ठगि गरेको पाइएको छ ।
वैदेशिक रोजगार बिभागका निर्देशक लोकनाथ भुषालले पीडितहरुको समस्याबारे आफूहरुलाई युएईस्थित नेपाली दुतावासको पत्र प्राप्त भईसकेको र मेनपावरमाथि कारवाहीको प्रक्रिया अघि बढाईसकिएको जानकारी दिए। उनले युवाहरुले तिरेको लागत, बिदेशमा बसेको समयको सम्झौता बमोजिमको तलब, नेपाल फर्किएको टिकट खर्चसहितको क्षतिपुर्ति दिलाउने र मेनपावरलाई कडा कारवाही गर्ने बताएका छन्।