विमानस्थलबाट फेरि ठुलो परिमाणमा सुन बरामद, साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरी ठुलो परिमाणमा सुन बरामद भएको छ।विमानस्थल भन्सार कार्यालयले गएराति पुनः साढे ६ किलो सुन बरामद गरेको छ। दुबईबाट अवैधरुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्रोतका अनुसार दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका एक इजिप्सयन नागरिकले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो।

दुबईबाट फ्लाई दुबईको उडानमार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमद मोगामद सालेहले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको हो। विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले सालेहलाई नियन्त्रणमा लिएको थियो।

त्यसपछि शरीर खानतलासी गर्दा सालेहले भित्री ज्याकेट बनाएर त्यसको खल्तीमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिए।