परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशी रिहाईको पहल गर्ने पहिलो प्राथमिकता

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद कतार गएका छन्। मन्त्री साउद भोलीदेखि कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुन आज बिहान पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

सोही क्रममा उनले उच्चस्तरीय भेटगरि हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने तयारी छ। उनले समकक्षी र विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्नेछन्।

मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँगको भेटमा पनि जोशीको रिहाइका विषयमा कुरा गरेका थिए। भने ७ गते इजरायलका राजदूत हनान गोडरसँग छलफल गरेका थिए। मन्त्री साउदले हिजोमात्रै पनि विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।

कुराकानीमा जोशीको हालको अवस्था लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने अथक प्रयासकै निरन्तरता स्वरुप टेलिफोन संवाद गरेका थिए। यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो।