हमास र इजरायल युद्धः ज्यान गुमाउने पत्रकार ९४ जना पुगे, ४ सय जना जेलमा

काठमाडौं।गाजामा जारी युद्धमा पत्रकारहरुको अबस्था दुखद र दयनियसँगै चिन्ताजनक बनेको छ। हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यसवर्ष मारिएका पत्रकारको संख्या उल्लेख्य रहेको र पत्रकारहरूको अबस्था दयनीय रहेको एक प्रतिवेदन सार्वजनिक भएको छ।

पत्रकारहरूको संगठन इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे)को हिजो सार्वजनिक प्रतिवेदनमा सन् २०२३ मा विश्वभर ९४ जना पत्रकारले ज्यान गुमाएका र यो वर्ष विश्वभर ४०० भन्दा बढी पत्रकार जेल परेको जनाएको छ।

आइएफजेका अध्यक्ष डोमिनिक पाराडेलीले भने,’पत्रकारहरूको सुरक्षाका लागि नयाँ विश्वव्यापी मापदण्ड र अझ प्रभावकारी अन्तर्राष्ट्रिय उपायहरूको आवश्यकता अहिले बढेर गएको छ।’

आइएफजेका अनुसार इजरायल–हमास युद्धमा यो वर्ष ६८ पत्रकारले ज्यान गुमाएका छन्। अक्टोबर ७ बाट सुरु भएको यो युद्धमा दैनिक एकभन्दा बढी पत्रकारको मृत्यु भयरहेको छ। यो वर्षभरि हुने मृत्युको ७२ प्रतिशत हो।

इजरायली सेनाले हमासविरुद्धको कारबाही जारी राखेको गाजा पट्टीमा मारिएका अधिकांश प्यालेस्टिनी पत्रकार थिए। संगठनले भन्यो, ’आईएफजेले सन् १९९० देखि कारबाहीमा मारिएका पत्रकारहरूको रेकर्ड राख्दै आएको छ र कुनै युद्धमा यति धेरै पत्रकार मारिएको कहिल्यै देखेको छैन।’