काठमाडौँ। ११ किलो सुन तस्करी प्रकरणमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत दोलखाले आदेश दिएको छ। चिनियाँ नाका रोङजियाबाट भएको अवैध तस्करीमा संलग्नहरुलाई शुक्रबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले थुनामा पठाएको हो।
यस्तै, सुन तस्करीमा संलग्न तीन जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छाड्ने आदेश पनि इजलासले दिएको छ। प्रहरीले सुन तस्करीमा संलग्न १५ जनालाई पक्राउ गरे पनि अझै १२ जना फरार छन्।
गत असोज १० र १२ मा विगु गाउँपालिका–३ र १ जामुने र लामाबगरबाट ११ किलो सुन प्रहरीले बरामद गरेको थियो। सुन ओसारपसारमा संलग्न पक्राउ परेसँगै चिनियाँ नाका रोङजियाबाट लामाबगरतर्फ पैदलमार्ग हुँदै तस्करी हुने गरेको खुलेको थियो।
सुन तस्करीका मुख्य आरोपित चिनियाँ नागरिक दाबा भनिने आकार लामा र टाँसी भनिने ग्याङ रुसहित तस्करीमा सघाउने नेपाली नागरिक नुर्वछिरिङ शेर्पा, भरिया पेम्बा तामाङ, केशर तामाङ, चसमान तामाङ, लालबहादुर तामाङ, माधवकुमार मगर र बेच्न सघाउने सनद प्रधानलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।
सुन तस्करीमा संलग्नता नदेखिएको भन्दै सुनमाला तामाङ,चेतनाथ न्यौपाने र एक नाबालकलाई साधारण तारिखमा छाड्न अदालतले आदेश दिएको छ। दोलखाबाट १० महिनामा ३३ किलो सुन तस्करी गरेको आरोपमा २७ जनाविरुद्ध सरकारी वकिल कार्यालय दोलखाले मंसिर १० मा मुद्दा दायर गरेको थियो।