३० वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेजी हुँदै

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ३० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजको चेतावनी दिएको छ। आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न ३० वटा कम्पनीलाई ७ दिनभित्र बक्यौता रकम भुक्तानी नगरे लाइसेन्स खारेज गर्ने जनाएको छ।

प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमति पत्र लिई विगत केही वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र नबुझाएको प्राधिकरणले बताएको छ ।

‘बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न यसै सूचनामार्फत जानकारी गराइन्छ, प्राधिकरणको सूचनामा उल्लेख छ ।

साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमति पत्र खारेजी गर्ने प्रक्रिया अगाडी बढाइने छ प्राधिकरणले सूचना मार्फत उल्लेख गरेको छ ।