काठमाडौं। उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश दिएका १० जना भोलि मात्रै छुट्ने भएका छन्।उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँ पत्र पुगेपछि मात्र आदेश कार्यान्वयन हुने र आज शनिवार बिदा भएकाले उनीहरु भोलि आइतवार मात्र छुट्ने भएका हुन् ।
अदालतले सन्दीप रायमाझीलाई ३० लाख,टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख तथा नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
अदालतले टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। साधारण तारेखमा छाड्न आदेश भएकाहरु जिल्ला अदालतको पत्रपछि रिहा हुने र धरौटी तोकिएकाहरु जिल्ला अदालतको पत्रपछि धरौटी बुझाएर रिहा हुने व्यवस्था छ।
यसैबीच पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे उच्च अदालत पाटनका न्यायाधीशबीच राय बाझिएपछि अब खाणको विषयमा के गर्ने भन्ने टुङ्गो तेस्रो न्यायाधीशको रायमा निर्भर हुने भएको छ।
पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिनुभएको थियो। तर अर्का न्यायाधीश जनकराज पाण्डेले भने ३० लाख रुपैयाँ धरौटीमा छाड्नु पर्ने राय दिनुभएको थियो ।
संयुक्त इजलासमा राय बाझिएपछि अब अर्को इजलासमा छिनोफानो हुने भएको हो । अर्को शुुक्रवारसम्म यो मुद्दा अर्को इजलासमा पेस गर्ने तयारी छ । अर्को इजलासले टुङ्गो नलगाउँदासम्म खाण थुनामै रहनेछन् ।