नेपाली चेलीले पाउने भइन् पहिलोपटक अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । पहिलोपटक नेपाली चेलीले अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार पाउने भएकी छन् । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेवापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको हो ।

भारतीय मानवअधिकार परिषद्ले सन् २०१५ देखि हरेक वर्ष मानवअधिकार र शान्तिका लागि योगदान पु¥याउनेमध्ये एक जनालाई पुरस्कार दिने गरेको छ । उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँ दिल्लीमा पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ ।

संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताएकी छन् । शरीर स्वस्थ र सग्लो भएपनि मस्तिष्कको विकास पूर्ण नभई बालबालिकाको जन्म हुने रोग अटिजम हो ।

अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी उप्रेतीले १३ वर्षअघि यस क्षेत्रमा काम गर्न थालेको थिइन् । अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलिएको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४ सयभन्दा बढी जनाले सेवा पाइसकेका छन् ।

अहिले उप्रेतीको विशेष विद्यालयका नरेफाँट, ताथली र गोठाटारमा तीन शाखा छन्, जहाँ ६० विद्यार्थी पढ्छन् । दोलखाकी स्थायी बासिन्दा सविता उप्रेती यो पुरस्कार पाउने पहिलो नेपाली हुन् ।