पोर्चुगलमा मदिराले मातेर नेपालीले गरे आफ्नै साथीको हत्या

काठमाडौं। पोर्चुगलमा मदिराले मातेका आफ्नै साथीले छुरा प्रहार गर्दा एक नेपालीको ज्यान गएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतको खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।

पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले मदिराले मातेर गत मंगलबार राति छुरा प्रहार गरेका थिए ।

क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल पुगेका थिए।