कतारका सरकारी निकाय प्रमुखहरुसँग एनआरएनएको भेट,नेपालीका समस्या समाधानमा जोड

कतार। गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद(एनआरएनए एनसीसी)कतारले कतार सरकारको गृहमन्त्रालय अन्तर्गतको जनसम्पर्क बिभागका प्रमुख सँग भेटवार्ता गरेको छ। कतारका विभिन्न सरकारी निकायसंग भेटघाट आरम्भ गरेको एनसीसी कतारले बुधवार गृह मन्त्रालय अन्तर्गतको जनसम्पर्क बिभागका प्रमुख बृगिडिएर अब्दुल्लाह खलिफा अल मुफ्ताहका प्रतिनिधि क्याप्टेन मुबारक शरीद अल मुत्लकसंग भेट गरेको हो।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा उपाध्यक्ष कृष्ण पन्थी, एनसीसी कतारका पुर्व कानुनी सल्लाहकार एवं राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मिया सहितको टोली सँगको भेटमा मन्त्रालयको तर्फबाट नेपाली समाजको सामाजिक उत्थान र बिकासको निम्ति विशेष कार्यक्रम तर्जुमा गर्न लागिएको क्याप्टेन मुबारकले बताएका छन्।

एनसीसी कतारले भेटका क्रममा मुख्यतया नेपाली समुदायको लागि जनचेतनामुलक कार्यक्रम समय समयमा आयोजना गर्न, नेपालीका राष्ट्रिय चाडपर्वहरुको अवसरमा आयोजित कार्यक्रमहरुमा सहभागिता जनाउन, नेपालका उच्च पदस्थ अधिकारीहरुको भ्रमणको क्रममा नेपाली समुदायलाई भेटन सहजता गरिदिन, विभिन्न जनचेतनामुलक सुचना नेपाली भाषामा प्रकाशन प्रसारण गर्न, दुर्घटना विमा वापतको क्षतीपुर्ती रकम प्राप्त गर्ने प्रक्रियामा सहजिकरण गरिदिन, नेपाली कैदीबन्दीको आममाफी तथा रिहाई लगाएत खेलकुद र विविध गतिविधिहरूमा सहभागिताको अवसरको लागि अनुरोध गरेको अध्यक्ष भट्टले जानकारी दिएका छन् ।

एनसिसि कतारले राखेको विषयमा मन्त्रालयको तर्फबाट सकारात्मक रहेको प्रतिक्रिया दिदै बिगतमा भन्दा नेपाली समाजमा विभिन्न प्रकारका बिकृती देखा पर्न थालेकोले कतारको संस्कृतिमा आँच आउने गतिविधि समेत हुन थालेकोमा कतार सरकारको ध्यानाकर्षण भएको हुँदा कतारमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाले सचेतनामुलक कार्यक्रम गरि नेपाली समुदायलाई सुसूचित गर्न समेत सुझाब प्राप्त भएको अध्यक्ष भट्टले बताए।

साथै भेटमा मन्त्रालयको तर्फबाट नेपाली समुदायका कार्यक्रमहरु गर्दा कतार सरकारको अनुमती लिएर मात्रै गर्न सचेत गराइएको थियो। सो भेटघाटमा कम्युनिटी रिच आउट अफिसका संयोजक फैसल अल हुदावीको पनि उपस्थिति रहेको थियो।