काठमाडौं। मकवानपुर केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। राति एक बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का मकवानपुरसहित काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। यसअघि जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते शुक्रवार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो।
यो भूकम्पबाट एक सय ५४ जनाले ज्यान गुमाएका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा.लोकविजय अधिकारीका अनुसार नेपाल सधैँ नै भूकम्पीय जोखिममा छ।
भूकम्प कहाँ र कतिबेला जान्छ भनेर पूर्वानुमान गर्न नसकिने हुँदा ठूलो भूकम्पबाट हुनसक्ने क्षति घटाउन पूर्वतयारी आवश्यक रहेकोमा उहाँको जोड छ।