तिहार सकियो,आजदेखी आस्थाको महापर्व छठ सुरु

INDIA GATE (BOAT CLUB) PAR CHHAT PUJA KARTI MAHILAYEN.PHOTO BY SUBHASH PAUL.

काठमाडौं। हिन्दु नेपालीहरुको दोश्रो ठुलो पर्व तिहार सकिएलगत्तै आस्थाको महापर्व छठ आजदेखि विधिवत् रुपमा सुरु भएको छ। छठपर्व गर्ने व्रतालुले आज पहिलो दिन माछ मरुवा बार्ने अर्थात् माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाई चोखो खाने गर्छन्। उनीहरू खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ।

जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा‘अरबा–अरबाइन’खाने दिनपनि भन्ने गरिन्छ। प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ। छठपर्वको दोस्रो दिन शुक्रबार व्रतालु नहाय खाय विधि गर्छन्। तेस्रो दिन शनिबार खरना मनाइन्छ।

यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल,सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरूप घरपरिवारले ग्रहण गरिन्छ। यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ। यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्।

ठेकुवा,भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिई अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। पर्वको अन्तिम अर्थात् पाँचौ दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत् रुपमा समापन गरिन्छ। यसैबीच, छठपर्व नजिक आएसँगै स्थानीय बजारहरूमा पूजा सामग्री खरिद बिक्री गर्नेहरूको घुइँचो लागेको छ।

यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन्। छठमा प्रसादका रुपमा केरा, फलफूल,पान, सुपारी, भण्टा, मुला किन्न अहिले मिथिलान्चलका हरेक हाटबजारमा चहलपहल बढेको छ। छठ पूजामा अनिवार्य रहेको हरियो सागसब्जी (तरकारी),फलफूल किन्नेहरूको भिडभाड देखिन्छ।

पूजा गर्नका लागि अहिले घाट बनाउन यहाँका युवाहरू व्यस्त देखिन्छन्। पायक पर्ने पोखरीका डिल, नदीका तट, तालतलैया लगायतका घाट सरसफाइ गरी सामूहिक रुपमा घाट बनाउन लागिपर्छन्। चन्दा उठाएर भएपनि घाट सजाउन लाखौँ रकम खर्चिएको हुन्छ । घाट सरसफाइ, सजावट र व्यवस्थापनका लागि अहिले धमाधम काम भइरहेको छ।