काठमाडौं। आज तिहारको मुख्य दिन अर्थात यमपञ्चकको पाँचौँ दिन भाइटीका। कार्तिक शुक्ल भ्रातृद्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य तथा दीर्घायुको कामना गर्दै दाजुभाइलाई टीका लगाइदिने चाड हो।
भाइटीकाका लागि आज बिहान १० बजेर ५१ मिनेटमा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यद्यपि टीका भने आज दिनभर टीका लगाउन सकिने जनाइएको छ।
भाइटीकामा दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गरेर दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी वा पञ्चरंगी टीका लगाउने गरिन्छ।
दाजुभाइको निधारमा टीका लगाइदिएपछि मखमली वा दुवोको माला लगाइदिएर तेल र जलको धाराले दाजुभाइलाई घेराभित्र पारिन्छ। यसपछि दाजुभाइलाई फलफूल, मसला, सेलरोटीलगायतका मीठामीठा परिकार खुवाउने तथा उपहार दिने गरिन्छ।
दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार दिने चलन छ।